कफीको फोहोर बस इन्धन

बेलायतस्थित एक टेक्नोलजी कम्पनीले प्रयोग भइसकेका कफीलाई ऊर्जाका रूपमा उपयोगमा ल्याउने जनाएको छ । टेक्नोलजी फर्म ‘बायो–बिन’ ले सवारी साधानहरूमा इन्धनका रूपमा कफीको फोहोर प्रयोग गर्ने जनाएको हो ।
डिजेलसँग कफीको फोहोर मिसाएर निकालिएको इन्धन राम्रो खाले जैविक ऊर्जा बन्ने र यसलाई सार्वजनिक यातायातमा उपयोगमा ल्याउन सकिने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । बीबीसी अनलाइनले ‘बायो–बिन’ लाई उद्धृत गर्दै लेखेको छ, ‘कम्पनीले एक वर्षसम्ममा एउटा
बसका लागि चाहिनेजति पर्याप्त कफी तेलको उत्पादन गरिसकेको छ ।’ ट्रान्सफोर्ट फर लन्डन (टीएफएल) ले परिवहनको उत्सर्जन कम गर्नका लागि जैविक इन्धनको उपयोग बढाउने निर्णय गरिसकेको छ ।
कम्पनीले उत्पादन गरेको यो जैविक इन्धनले लन्डनका बसहरू सञ्चालनमा ल्याइने जनाएको छ । खाने तेल र मासु प्रशोधनका क्रममा निस्किने बोसोजस्ता वस्तुहरूको प्रयोग गरी जैविक इन्धन बनाइन्छ । बीबीसीका अनुसार यो इन्धनको प्रयोग राजधानी लन्डनका ९ हजार ५ सय बसमा पहिलेदेखि नै हुँदै आएको छ । तर, कफी मिश्रित जैविक इन्धनको प्रयोग लन्डनको सार्वजनिक यातायात प्रणालीमा पहिलोपटक गर्न लागिएको छ । ‘बायो–बिन’ कम्पनीका अनुसार लन्डनबासीहरूले हरेक वर्ष दुई लाख टन कफीको फोहोर उत्पादन गर्ने गर्छन् । उसले कफी सप र इन्स्टयान्ट कफी फयाक्ट्रीजबाट कफीको संकलन गरी तेल बनाउने जनाएको छ ।
सञ्चार माध्यमहरूका अनुसार यस प्रकारको तेल बसहरूमा बिना कुनै मोडिफिकेसन्सको इन्धनका रूपमा प्रयोग गर्न सकिनेछ । कम्पनीले एउटा लन्डन बस वर्षभरि सञ्चालनमा ल्याउन साढे दुई मिलियन कप कफीको आवश्यकता पर्ने जनाएको छ । कम्पनी संस्थापक आर्थुर कायका अनुसार ६ हजार लिटर कफी तेल उत्पादन गरिसकिएको छ ।

कान्तिपुर. (2017, November 24). अर्थ/वाणिज्य. Retrieved from ekantipur.com: http://kantipur.ekantipur.com/printedition/news/2017-11-24/20171124073439.html