कफी केन्द्रमा किसानको आकर्षण

पुस ३०, २०७४ घनश्याम गौतम

गुल्मी — रुरु–४ बलेटक्सारस्थित कफी अनुसन्धान केन्द्रमा किसानहरूको आकर्षण बढेको छ । केन्द्रमा अवलोकन र अनुसन्धान गर्न पुग्नेहरू नजिकै रहेको भण्डारी डाँडामा समेत पुग्ने गरेका छन् । चार वर्षअघि सरकारले डाँडामा मुलुककै पहिलो अनुसन्धान केन्द्र खोलेको हो ।

केन्द्रले अहिलेसम्म २९ प्रकारका कफीका नयाँ जात विकास, नर्सरी र बोटको व्यवस्थापन गर्दै आएको छ । सय रोपनी क्षेत्रफलमा फैलिएको भण्डारीडाँडाका १ हजार बढी बोटमा लटरम्मै फलेको कफी देख्दा त्यहाँ पुग्ने किसान र अवलोकनकर्ता सबै मोहित हुन्छन् । केन्द्रले १० जातका बीउबाट सुरु गरेको अनुसन्धानलाई २९ प्रकारका बोटमा विकास गरेको छ । रोपेको तीन वर्षमै एउटै बोटले ५ हजारसम्म दाना दिने गरी कफी फल्न थालेका छन् । सेतो गवारोबाट पीडित जिल्लाभरका झन्डै२ हजार व्यावसायिक किसान केन्द्रमा फलेका बोट देखेर उत्साहित छन् ।
३७ वर्षअघि ५० पैसामा एक बोट कफी रोपेका रुरु गाउँपालिका ४ सिन्दुरेका भोजबहादुर रेश्मीले अनुसन्धान केन्द्रले बीउ छनोटदेखि नर्सरी, बिरुवा र उत्पादनसम्मका सबै प्रविधि सिकाएको र केन्द्रमा फलेको कफी देखेपछि आफूलाई थप उत्साही बनाएको बताए । ‘३७ वर्षअघि सुरु गरेको कफी खेती रोगकै कारण छोड्ने अवस्थामा पुगेको थिएँ,’ उनले भने, ‘तर केन्द्रले नयाँ विधिको नर्सरी र खेती सिकाएपछि पुराना बोट फालेर नयाँ थप्दै छु ।’ उनको बगैंचामा अहिले पनि ३ सय नयाँ र ४ सय पुराना बोट छन् । उनले कफी बिक्रीबाट वार्षिक २ लाख बढी आम्दानी गर्छन् ।
गुल्मी दरबार गाउँपालिका १ बलिथुमका कफी किसान घनश्याम गौतमले अनुसन्धान केन्द्र कफी किसानका लागि गतिलो पाठशाला बनेको बताए । केन्द्रमा जिल्लाका किसानदेखि बाहिर जिल्लाबाट समेत अध्ययनका लागि आउन थालेका छन् । अहिलेसम्म अनुसन्धान केन्द्रमा अध्ययन गर्न र सिक्न झन्डै १ हजार ७ सय किसान, विद्यार्थी र सरोकारवाला आइसकेका छन् । अमेरिकका कफी वैज्ञानिक जोस कार्लोस सहितको टोली पनि आएर अध्ययन गरेको छ ।
केन्द्रले माटो, मल र १० जातका बीउबाट सुरु गरेको अनुसन्धानलाई २९ जातमा पुर्‍याएको केन्द्रका वरिष्ठ वैज्ञानिक कृष्णबहादुर थापाले बताए । कफीको माउबोट, त्यसको हाँगा, बीउ छनोट गरी बीउ अनुसारको माटो, बिरुवा, उत्पादन र गुणस्तरसम्म सबै अनुसन्धान भइरहेको उनले बताए । ‘हामीले बीउ, माटो, बिरुवा र फल उत्पादनदेखि गुणस्तरसम्म सबै कुराको एक चरणको अनुसन्धान सक्नै लागेका छौं,’ उनले भने, ‘बालुवामा हुर्काइएको बिरुवालाई छहारीसँगै कुखुराको मल र तोरीको पिनालाई मलको रूपमा प्रयोग गर्दा छिटो रोग नलाग्ने र उत्पादन बढी दिने देखियो ।’ माटो, मल, बीउदेखि वातावरणीय प्रभावको समेत परीक्षण भइरहेको उनले बताए ।
केन्द्रको १ सय रोपनी जग्गामध्ये ७० रोपनीमा ३२ हजार कफीका बिरुवा परीक्षणका रूपमा उत्पादन भइरहेका छन् । बाँकी जग्गामा नर्सरीका लागि प्लटिङ र सिँचाइ व्यवस्थापनको काम भइरहेको छ । किसानका नर्सरीमा रोपेको ४ वर्षमा फल दिने भए पनि अनुसन्धान केन्द्रमा विकास गरिएका नयाँ बिरुवाले रोपेको ३ वर्षमै उत्पादन दिन थालेका छन् ।
केन्द्रले सुरुमा गुणस्तरीय बीउको खोजी गर्छ । बीउ खोजीपछि माटो, बालुवा, बालुवा र माटो गरी तीन किसिमको नर्सरी बनाएर बिरुवा उत्पादन गर्छ । त्यसमा राम्रो देखिएको, छिटो हुर्किएको र अर्को माटोलाई पनि सहजै ग्रहण गर्न सक्ने बिरुवा रोजेर किसानका लागि सिफारिस गर्छ । ती बिरुवालाई आवश्यक पर्ने छहारीदेखि मलको पनि परीक्षण गर्छ । अहिलेसम्म बालुवामा हुर्काइएको बिरुवा र त्यसमा तोरीको पिनालाई मलको रूपमा प्रयोग गरेको बिरुवा उत्पादनका लागि प्रभावकारी देखिएको केन्द्रले जनाएको छ ।
अनुसन्धानबाट कफी बोटका लागि तोरीको पिना, कखुराको मल, गड्यौली मल, बाख्राको मलपछि गाईभैंसीको मल प्रभावकारी देखिएको छ । केन्द्रका अनुसार कफीको प्रतिबोटका लागितोरीको पिना २, कुखुराको मल साढे २, गड्यौली मल ३, बाख्राको मल ४ र गाईभैंसीको मल ५ किलो आवश्यक पर्छ । त्यसरी सबै प्रक्रिया पूरा गरेर छानो र छहारीसहित हुर्केको बिरुवाले२ देखि ३ वर्षमै उत्पादन दिन्छन् ।
जिल्लाभर लामो समयदेखि नियन्त्रणमा आउन नसकेको सेतोगवारो केन्द्रको अनुसन्धानपछि नियन्त्रणमा आउन थालेको रुरु गाउँपालिका अध्यक्ष नीलकण्ठ गौतमले बताए । ‘धेरै कफी किसानलाई अहिले अनुसन्धान केन्द्र खेती सिक्ने पाठशाला बनेको छ,’ उनले भने ।

https://www.kantipurdaily.com/business/2018/01/14/20180114074137.html