सिर्जनादेखि कूटनीतिसम्म

रामकला खड्का शुक्रवार, कात्तिक १७, २०७४
विश्वप्रसिद्ध कफी पारखी
‘हुँदै नहुनुभन्दा नमीठो कफी भए पनि हुन्छ’ फिल्म निर्देशक डेभिड लिन्चको यो भनाइ कैयौं कफी पारखीलाई सही लाग्न सक्छ। विश्वचर्चित कविदेखि कलाकार, उपन्यासकारदेखि नाटककार, दार्शनिकदेखि जासुसमात्रै होइन, नेतादेखि राजनेतासम्मले कफीलाई आफ्नो साथी बनाएका छन्। विश्वका चर्चित सैनिक शासक नेपोलियन बोनापार्टले मृत्युकोशय्यामा पनि एक चम्चा कफीको मागेका थिए, ‘बेहोस भएर बस्नुभन्दा कफी पिएर पीडा सहनु जाति !’ जासुस कुर्त वालेन्डरले कफीबिना प्रहरीको कार्यसमेत सम्भव नहुने बताएका थिए।

बेलायतकी पहिलो महिला प्रधानमन्त्री मार्गेट थ्याचरको डाइट-प्लान सन् २०१० ताका पत्रपत्रिकाका मुख्य हेडलाइन बनेका थिए। सन् १९७९ मा उनले लेखेको व्यक्तिगत डायरी बाहिर आएपछि उनको खानपिनबारे चर्चा चुलिएको थियो। आफ्नो तौल घटाउने उद्देश्यले उनले उसिनेको अन्डा, कालो कफी, गोलभेँडा, सलाद, अंगुर र मासु खाने गरेको खुलासा भयो। अमेरिकी स्वतन्त्रताका एक महत्वपूर्ण योद्धा बेन्जामिन फ्र्यांकलिन दिन-रात लन्डनको एक कफी पसलमा बिताउँथे। विद्युत् आविष्कारमा योगदान गर्ने श्रेय पाएका फ्र्यांकलिन सोही कफी पसलमा बसेर चेस खेल्थे र आफ्ना महत्वपूर्ण राजनीतिक बैठक सञ्चालन गर्थे। आफ्ना महत्वपूर्ण सन्देशलाई समेत सोही पसलमा पठाउन उनले आफ्नी बहिनीलाई अह्राएका थिए।

अनौठो आदत
डेनिस दार्शनिक सोरेन केर्कीगार्ड नौलो तरिकाले कफी बनाउँथे। उनी पहिले आफ्नो कपमा चिनीले पहाड बनाएजस्तै गरी एकमाथि अर्को थुपार्थे। त्यसमा कालो कफी हालेर त्यसलाई घुल्न दिन्थे। कफी पिउनका लागि उनीसँग ५० वटा भिन्नाभिन्नै कप थिए। आफ्नो सेक्रेटरीलाई एउटा कप छान्न लगाउँथे र त्यही कप छानिनु-पछाडिका दार्शनिक कारण खुलाउने गर्थे। क्यानाडेली कवि तथा उपन्यासकार मार्गरेट एटउड आफ्नो ब्रेकफास्टमा दूध हालेको कफीबाहेक अरू केही खान्नथिन्। उनले कफीको आफ्नै ब्रान्ड निकालेकी थिइन्। सधैं प्लास्टिककै कपमा मात्रै कफी खाने गरेका कमेडियन इड्डी इजार्डले भनेका थिए, ‘मलाई मेरो कफी मेरी पत्नी जत्तिकै मनपर्छ।’
फ्रान्सका राजा लुइस १५ ले दरबारको चौरमा आफैंले कफी उत्पादन गरेका थिए। उनी आफैं कफी टिप्थे। दानालाई प्रशोधन गरेपछि दरबारमा आउने पाहुनालाई त्यही कफी बनाएर खुवाउँथे। जर्मन संगीतकार लडविग भ्यान बिथोभेन जम्मा ६० दानाको कफीमात्रै पिउने गर्थे। त्योभन्दा एक दाना पनि घटीबडी नगर्ने उनी आफैंले बनाएको कफीमात्रै पिउँथे।
सेलिब्रेटी र कफी
विश्वका चर्चित कमेडियनमध्येका भोल्टायर कफी एडिक्ट्समध्येमै गनिन्छन्। उनी दिनमा ४० देखि ५० कपसम्म चकलेट मिसाएको कफी पिउने गर्थे। उनका चिकित्सकले भोल्टायरलाई कफी क्रेजले चाँडै मृत्युको मुखमा धकेल्छ भनेर चेतावनी दिएका थिए। तैपनि उनी ८० वर्षसम्म बाँचे। आफूलाई मनपर्ने कफीका दाना ल्याउने कामदारलाई उनी बोनस पनि बढाइदिन्थे।

ब्रेकर फ्रान्सका राजा लुइस १५ ले दरबारको चौरमा कफी उत्पादन गरेका थिए। उनी आफैं कफी टिप्थे। दानालाई प्रशोधन गरेपछि दरबारमा आउने पाहुनालाई त्यही कफी बनाएर खुवाउँथे।
सन् २००६ ताका चर्चित अभिनेता ज्याकी च्यानले एसियाभरि कफीको चेन खोल्ने आफ्नो योजना सुनाएका थिए। उनले एक प्रेस विज्ञप्तिमार्फत भनेका थिए, ‘संगीत र चलचित्रजस्तै कफीको पनि कुनै सीमा हुँदैन। कफी आफैंमा एक भाषा हो। जब तपाईंहरूले मेरो चलचित्र हेर्नुहुन्छ, ज्याकी च्यानको बारेमा सोच्नुहुन्छ। जब तपार्इंहरूले कफी पिउनुहुन्छ, मलाई लाग्छ, त्यतिबेला पनि तपाईंले ज्याकी चेनलाई नै सम्झनुहुन्छ।’
चर्चित नायिका सेलेना गोमेज, ‘कफी कफी, मलाई सधैं कफी’ भन्ने गर्छिन्। उनो यस भनाइ हलिउडमा चर्चित छ।

देशैपिच्छे फरक ट्रेन्ड
विश्वमै दैनिक २० करोड कप कफीको खपत हुने गरेको छ। युरोपमा सबैभन्दा बढी कफी पिइने गरिन्छ। त्यसमा पनि धेरै कफी पिउनेमा गनिएका छन् डच नागरिक। डच नागरिकले दिनको सरदर साढे दुई कप कफी खाने गरेको बजार अनुगमनले देखाएको छ। विश्वमा दोस्रो कफी एडिक्टेड देशमा गनिने फिनल्यान्डको दाँजोमा यो झन्डै दोब्बर हो। कफी बढी खानेमा स्विडिस तेस्रो स्थानमा पर्छन्। उनीहरू दिनको एक कप आधा कफी पिउँछन् भने डेनिस चौथोमा पर्छन्। यो सूचीमा अमेरिकी जनता १६औं स्थानमा पर्छन्। उनीहरू दिनको एक कपभन्दा कम नै कफी खाने गरेको पाइन्छ।

क्याप्पुचिनो इटालीबाट आएको हो। तर, यो पाचन प्रक्रियाका लागि खतरनाक मानिएकाले दिउँसोको खानापछि इटाली नागरिक कफी खाँदैनन्। कोलम्बियाले विश्वकै उत्कृष्ट कफीमध्येका कफी उत्पादन गर्छ। तर, प्रायजसो कोलम्बियालीले कालो मसीजस्तो कफी ‘टिन्टो’ पिउने गर्छन्। कफीलाई पिसेर तुरुन्तै बनाइने हुनाले अलि कम गुणस्तरीय यो कफीलाई थर्मसमा राखेर कोलम्बियाका सडकमा बिक्री गर्ने गरिन्छ।
कफीमा युवा क्रेज
स्टारबक्स र डंकिन डोनट्सजस्ता चर्चित कफी सपका कारण अमेरिकी र युरोपेली युवाको पनि कफी क्रेज बढेको छ। १८ देखि ३५ वर्षभित्रका युवाले सातामा कमसेकम एक पटक यी पसलमा गएर कफी खाने गरेका छन्। त्यसैगरी विश्वका चर्चित सेलिब्रेटी हुन् या युट्युबर, सबैले यी कफी सपलाई आफ्नो मनपर्ने गन्तव्य बनाएका छन्। विश्वको सबैभन्दा चर्चित कफी ब्रान्ड ‘नेसक्याफे’ भने ४१ राष्ट्रका कफी पारखीमाझ लोकप्रिय छ।

कफी चर्चामा राष्ट्रपति
अमेरिकाका धेरै राष्ट्रपति आफ्नो कफी आदतकै कारण चर्चामा छन्। अमेरिकाका दोस्रो राष्ट्रपति जोन एडम्स र उनकी पत्नी मार्थाले तीतो कफी खान थालेपछि त्यसको लत उनीहरूलाई यति धेरै बस्यो कि यी दम्पतीले दिनकै दुई कफ कफी पिउन थाले। कफीले नै आफूलाई नयाँ राजनीतिक सिद्धान्त निकाल्न सहयोग पुर्यादएको उनीहरूले बताएका थिए।
अमेरिकाका राष्ट्रपति जोन एफ केनेकी र उनकी पत्नीले सन् १९५२ ताका ‘कफी विथ द केनेडिज’ नामक एक अभियान नै चलाएका थिए। यस अवधिमा उनीहरूले इच्छुक अमेरिकी जनतासँग कफी पिउन सक्ने व्यवस्था मिलाइएको थियो। पूर्वराष्ट्रपति जर्ज एच डब्लू बुस दिनमा दस कप जति कफी पिउने गर्थे। शरीरमा क्याफिनको मात्रा बढी भएकै कारण सन् १९९१ मा उनको स्वस्थ्यमा थाइराइडको असन्तुलन देखिनुका साथै मुटुको चालमा गडबडी भएको थियो।
अमेरिकाका २६औं राष्ट्रपति थियोडोर रुजभेल्टले कफी खाने गरेका मग सुप खाने बाउलजस्तै देखिन्थ्यो। रूस जापानको युद्ध अन्त्यमा महत्वपूर्ण भूमिका निभाएका यी राष्ट्रपति दिनमा एक ग्यालन कफी पिउँथे। रुजभेल्टले आफ्नो जीवनभर यति धेरै कफी पिए- उनको मृत्युपछि छोराले बाबुको कफी मग हेर्दा आफ्नो बाथरुमको बाथटबभन्दा पनि नराम्रो अवस्थामा पाए। अमेरिकाका १६औं राष्ट्रपति अब्राहम लिंकन चियाका पारखी थिए। ‘यदि यो कफी हो भने मलाई चिया ल्याऊ, यदि यो चिया हो भने मलाई कफी ल्याऊ,’ लिंकनको भन्थे।

सिर्जनामा कफी
चर्चित लेखक अनर डी बाल्ज्याक दिनमा ५० कप कफी पिउँथे। उनी प्रायः बिहान १ बजे उठ्थे र ८ बजेसम्म लेखिरहन्थे। एक घण्टा आधाको छोटो सुताइपछि साढे ९ देखि ४ बजेसम्म पुनः लेखनमै व्यस्त हुन्थे। ‘पेटमा कफी भइन्जेल विचारहरू घुमिरहन्छन्’, उनले भनेका थिए।
http://annapurnapost.com/news-details/83347