प्रस्तुतिः अस्मिता ढकाल , http://www.abhiyan.com.np/new/Articles/view/101134

कफीका पारखीहरूका लागि सुखद समाचार आएको छ । कफीको सेवनले हृदयरोग र स्ट्रोकलगायतका अधिकांश रोगबाट हुन सक्ने मृत्युको सम्भावना घटाउने एक अध्ययनले देखाएको छ । अमेरिका तथा यूरोपभित्रका समूहबीच गरिएको अध्ययनले दैनिक एक कप कफी पिउनाले डाक्टरकहाँ जानबाट बचाउने कुरा बताएको छ । २ ओटा अध्ययनले कफी पिउने बानी र अधिकांश रोगको जोखीममा आएको कमीसँग प्रत्यक्ष सम्बन्ध रहेको दाबी गरेको छ । अमेरिकन कलेज अफ फिजिसियन्सले एनल्स अफ इण्टरनल मेडिसिनको पछिल्लो संस्करणमा प्रकाशित अध्ययनअनुसार कफीको सेवन रोगहरूबाट बचाउनमा लाभदायक छ । त्यस्तै, प्रत्येक कपसँगै यसको फाइदा पनि बढ्दै जाने अध्ययनले दाबी गरेको छ ।

पहिलो अध्ययनमा १० ओटा यूरोपेली राष्ट्रका ४ लाख ५० हजार जनाको सहभागिता रहेको थियो । यसमा कफी पिउने बानी र मृत्युदरबीचको सम्बन्धको अध्ययन गरिएको थियो । १६ वर्षको अध्ययन अवधिमा अनुसन्धानकर्ताहरूले के पाए भने दैनिक तीन वा सोभन्दा बढी कप कफी पिउने पुरुषमा नपिउनेको तुलनामा मृत्युको जोखीम १८ प्रतिशतले घट्यो । यस्तै, महिलामा भने मृत्युको जोखीम ८ प्रतिशतले घटेको पाइयो । त्यस्तै, १४ हजार ८ सय जना सहभागिताको सबसेटमा कफी पिउनेहरूमा लिभर एञ्जाइम र ग्लुकोज नियन्त्रणजस्ता आन्तरिक रोगहरूको सङ्केत गर्ने जैविक मार्कर पनि राम्रो रहेको पाइयो ।

सोही संस्थाले गरेको अर्को अध्ययनमा अमेरिकाका १ लाख ८५ हजार जना गोरा र गैरगोराहरूको सहभागिता रहेको थियो । माथि बताइएकै समयावधिमा दैनिक १ कप कफीको सेवनले मृत्युको जोखीम १२ प्रतिशतले घटाउने यस अध्ययनमा पाइयो । त्यस्तै, दुई वा तीन कप कफी पिउँदा जोखीम १८ प्रतिशतले घट्ने अध्ययनले देखाएको छ । यो निष्कर्ष धूम्रपान गर्ने र नगर्ने दुबैका लागि समान रहेको बताइएको छ ।

‘कफी पिउनेहरूमा मुटुसम्बन्धी रोग, क्यान्सर, स्ट्रोक, श्वासप्रश्वास रोग, मधुमेह तथा किड्नी रोगबाट हुने मृत्युको जोखीम घटेको अध्ययनमा पाइयो,’ युनिभर्सिटी अफ साउथर्न क्यालिफोर्नियामा  निवारक चिकित्साकी एसोशिएट प्रोफेसर तथा यस अनुसन्धानकी लेखिका भेरोनिका सेटियावानले भनेकी छन् । यद्यपि, दीर्घ जीवनका लागि कफी सेवन मात्रै गर्ने र पर्याप्त व्यायाम तथा सन्तुलित खानालाई बेवास्ता भने गर्न नहुने अध्ययनकर्ताहरूले चेतावनी दिएका छन् । दीर्घ जीवनका लागि धेरैभन्दा धेरै मात्रामा कफी पिउने सल्लाह नदिए पनि कफीको सेवनले पक्कै पनि हामीलाई कुनै हानि नपुग्ने अध्ययनले सुझाएको छ ।

प्रस्तुतिः अस्मिता ढकाल

http://www.abhiyan.com.np/new/Articles/view/101134