मुलुकका विभिन्न जिल्लामा गरी कुल ९ सय ७३ हेक्टर क्षेत्रफलमा व्यवसायिक कफी खेती हुने गरेको सरकारी अध्ययनले देखाएको छ । केन्द्रीय तथ्याङक विभागले नेपालमा व्यवसायिक कफी खेती सर्वेक्षण २०७५/७६ को प्रतिवेदन सार्वजनिक गर्दै ३२ जिल्लाका ९ सय ७३ हेक्टर जमिनमा व्यवसायिक कफी खेती हुने गरेको जनाएको छ ।

नेपालमा सबै भन्दा बढी काभ्रे जिल्लामा कफी उत्पादन हुने गरेको छ । क्षेत्रफलको आधारमा पनि काभ्रे सबैभन्दा बढी कफी खेती गर्ने जिल्लाको रुपमा रहेको छ । विस २०७४ बैशाख १ देखि चैत मसान्त सम्म गरेको अध्ययनमा काभ्रेमा कुल १ सय ४ दशमलव ३ हेक्टर क्षेत्रफलमा २ सय २१ मेट्रिक टन कफी उत्पादन भएको तथ्याङक विभागले जनाएको छ ।

काभ्रेपछि बढी कफी उत्पादन गर्ने जिल्लामा स्याङ्जा र सिन्धुपाल्चोक रहेका छन् । क्षेत्रफलको आधारमा बढी कफी खेती हुने जिल्लामा दोस्रोमा ललितपुर, तेस्रोमा स्याङजा रहेका छन् । कफी खेती गर्ने कृषक, व्यवसायीको संख्याको आधारमा पनि काभ्रे नै पहिलो स्थानमा रहेको विभागको तथ्याङकले देखाएको छ । कफी खेती गर्ने ९६ प्रतिशत कृषकहरुले प्राङगारिक प्रणालीमा खेती गर्ने गरेको अध्ययनले देखाएको छ । जसमध्ये ९ प्रतिशत फर्मले मात्र प्रमाणीकरण गरेका छन् भने ३४ प्रतिशत व्यवसायिकले सहकारी तथा कम्पनीमा प्रमाणीकरण गरेका छन् । ५७ प्रतिशत कृषक तथा व्यवसायीले प्रमाणीकरण बिना नै कफी खेती गर्ने गरेको विभागको तथ्याङकले देखाएको छ । कफी खेती गर्ने व्यवसायी मध्ये ७४ प्रतिशत पुरुष र २६ प्रतिशत महिला रहेको विभागको सर्वेक्षणले देखाएको छ । कफी खेती गर्ने कृषक व्यवसायीमध्ये १ दशमलव ७ प्रतिशतले आफ्नो व्यवसाय दर्ता गरी सञ्चालन गरेको पाइएको छ । प्रदेशका आधारमा सबै भन्दा बढी प्रदेश ३ मा २ हजार ७ सय ५८ जना कृषक तथा व्यवसायीले ४ सय २३ दशमलव ३ हेक्टर क्षेत्रफलमा ७ सय ५७ दशमलव ८ मेट्रिक टन चेरी उत्पादन गरेको विभागको तथ्याङ्क छ । यस्तै, प्रदेश १ को १ सय २० दशमलव ५, गण्डकी प्रदेशको २ सय ८१ दशमलव ४ र प्रदेश ५ को १ सय ४७ दशमलव २ हेक्टर क्षेत्रफलमा गरी कुल ९ सय ७२ हेक्टर हेक्टर क्षेत्रफलमा कफी उत्पादन हुने गरेको छ । यस्तै, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अध्यक्ष दिपक खनालले नेपालमा कफी व्यवसायको सम्भावना उच्च रहेको बताउनु भएको छ । केन्द्रीय तथ्याङक विभागले नेपालमा व्यवसायिक कफीखेती सर्वेक्षण २०७५/७६ को प्रतिवेदन सार्वजनिक कार्यक्रममा उहाँले मध्य पहाडी जिल्लाहरुमा कफी खेतीको सम्भावना उच्च रहेको भन्दै खेती विस्तार गरी रोजगारी सिर्जना गर्न सकिने बताउनुभयो । नेपालमा कफी खेतीका लागि उपयुक्त वातावरण रहेको भन्दै बोर्डका अध्यक्ष खनालले कफी खेतीलाई व्यवसायीक रुपमा अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो । कफीको उत्पादन वृद्धि गर्न पर्याप्त अनुसन्धानको आवश्यकता रहेको उहाँले बताउनुभयो । नेपालमा १२ लाख हेक्टर क्षेत्रफल जमीन कफी खेतीका लागि उपयुक्त रहेको उहाँले बताउनुभयो । कार्यक्रममा केन्द्रीय तथ्याङक विभागका महानिर्देशक सुमनराज अर्यालले व्यवसायिक कफीखेती सर्वेक्षण २०७५/७६ को प्रतिवेदनबाट प्राप्त भएका सुझावहरुलाई कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनुभयो । आगामी दिनमा तथ्याङ्क प्रकाशन गर्ने मात्र नभई संकलित तथ्याङकहरुको विशलेषण गर्ने गरी विभाग अघि बढ्ने उहाँले बताउनुभयो । प्रकाशित:असार १७, २०७६ रेडियो कान्तिपुर, काठमाडौं