१९ असार, काठमाडौं । हरेक वर्ष फ्रान्समा आयोजना गरिने एक अन्तर्राष्ट्रिय कफी प्रतियोगिताको २०१७ संस्करणमा नेपाली कफी पनि पुरस्कृत भएको छ ।
नेपालको ग्रिनल्याण्ड अर्ग्यानिक फार्मले उत्पादन गरेको ‘हिमालयन अरेबिका’ कफीले ‘इन्टरनेशनल कन्टेस्ट अफ कफीज रोस्टेड इन देर कन्ट्रिज अफ ओरिजिन २०१७’ मा ‘पुइस आमेर’ (कडा कफी) विधा अन्तरगत उत्कृष्ट ‘गोर्मे’ कफीको उपाधि जितेको हो ।
पेरिसमा गत साता आयोजित एक कार्यक्रममा फ्रान्सका लागि नेपाली राजदूत अम्बिका देवी लुईँटेलले ग्रिनल्याण्डको तर्फबाट पुरस्कार ग्रहण गरेको हिमालयान अरेबिकाका आरके बञ्जाराले अनलाइनखबरलाई जानकारी दिए ।
‘सम्मान पाएकोमा हामी निकै खुसी छौँ । गत वर्ष पनि हामीले यो सम्मान पाएका थियौँ, ‘ वञ्जाराले भने ।
प्रतियोगिताको वेभ साइटका अनुसार ब्राजिल, क्यामेरून, कोस्टा रिका, एल साल्भाडोर, इथियोपिया, ग्वाटेमाला, हन्डुरास, मेक्सिको, नेपाल, फिलिपिन्स, थाइल्याण्ड, टोगो, अमेरिका र भियतनामला कफीले कार्यक्रममा सहभागिता जनाएका थिए ।

२०७४ असार १९ गते १६:०४ मा प्रकाशित

अनलाइनखबर: http://www.onlinekhabar.com/2017/07/606426/