श्रोत: कान्तिपुर दैनिक मंसिर १, २०७३
http://kantipur.ekantipur.com/news/2016-11-16/20161116081606.html

निर्यातजन्य कफीको विदेशमा ८ हजार टन माग रहेका बेला नेपालको उत्पादन ४ सय ३४ टन (ग्रिन बिन) पुगेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड १२ औं राष्ट्रिय कफी दिवसका अवसरमा मंगलबार राजधानीमा पत्रकार सम्मेलनमा कफी उत्पादन अघिल्लो वर्षको दाँजोमा थोरै गिरावट आएको जानकारी दिइयो । बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमका अनुसार अघिल्लो वर्ष नेपालभर हरियो कफी बिनको कुल उत्पादन ४ सय ६३ टन हाराहारी भएको थियो । यी दुई वर्षको उत्पादनलाई विश्लेषण गर्दा कफी उत्पादनमा ६ प्रतिशत गिरावट आएको छ ।

बोर्डले भूकम्प, भारतले लगाएको आर्थिक नाकाबन्दी, खडेरीका कारण कफी उत्पादनमा गिरावट आएको दाबी गरेको छ । तर, बोर्डले जिल्ला कृषि विकास कार्यालयलाई उद्धृत गर्दै कफी खेती गर्ने प्रचलन र क्षेत्रफल बढेको बताएको छ । कफी विस्तार कार्यक्रमको प्रभावस्वरूप कफी रोपण क्षेत्र गत वर्ष २३ सय ८१ हेक्टर थियो, अहिले बढेर २६ सय १८ हेक्टर क्षेत्रफल पुगेको बोर्डको भनाइ छ । क्षेत्रफल बढेका कारण आगामी वर्ष भने उत्पादनमा वृद्धि हुने प्रक्षेपण गरिएको छ ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार गत वर्ष ५ करोड ६५ लाख रुपैयाँ बराबरको १ सय ११ टन कफी आयात भएको थियो भने ९ करोड ९३ लाख बराबरको १ सय टन हाराहारी कफी निर्यात भएको देखिन्छ । बोर्डले यस वर्ष १० लाख कफीका बिरुवा उत्पादन हुने अनुमान गरेको छ । यत्रो संख्यामा बिरुवा उत्पादन भइरहेकाले २०७३ साललाई कफी रोपण वर्ष भनिएको छ ।
यो वर्ष थप ५ सय हेक्टरमा कफी खेती हुने अनुमान गरिएको छ । मंसिर १ गते मनाइने कफी दिवसले गुणस्तरीय कफी उत्पादनमा जोड गरेको छ । यसैबीच बोर्डले मंसिर १ गतेदेखि लागू हुने गरी कच्चा कफीको मूल्य निर्धारण गरेको छ । फ्रेस चेरी कफी ग्रेड ए (अर्गानिक प्रमाणित भएको) ८३ रुपैयाँ किलोग्राम, ग्रेड बीलाई ७८ रुपैयाँ प्रतिकिलोग्राम निर्धारण गरेको छ । त्यसैगरी ड्राई चेरी ग्रेडअनुसार १ सय ४०, १ सय र ४० रुपैयाँ तोकिएको छ । पार्चमेन्ट कफीअन्तर्गत ग्रेडअनुसार ४ सय १५ र ४ सय तोकिएको छ ।